मिर्गौला दानको प्रचार हुलाक टिकटबाट गराउन स्वास्थ्य मन्त्रालयलाई गृहमन्त्रीको सुझाव

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला प्रत्यारोपण एवं मिर्गौला दानको प्रचार हुलाक टिकटको माध्यमबाट गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ। विश्व मिर्गौला दिवसको उपलक्ष्यमा सोमबार ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा आयोजना गरिएको कार्यक्रमबीच उहाँले सो कुरा बताउनुभयो ।

सरकारका सबै मन्त्रीहरूले मरणोपरान्त आफ्ना शरीर दान गर्ने निर्णय गरिसकेको हुँदा त्यसलाई वैधानिकता दिन के कस्तो प्रक्रिया अपनाउनुपर्ने अपनाउन उहाँले स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई आग्रह गर्नुभएको थियो। मृत्युपछि अंग दान दिन सकिने कानुन नेपालमा लागु भइसके पनि त्यसलाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ भन्नेबारेमा सुझाव दिन उहाँले स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा अन्य चिकित्सिकलाई आग्रह समेत गर्नुभयो।

ब्रेन डेथ भएका बिरामीहरूको पनि अंग प्रयोग गर्न सकिने हुँदा त्यसमा पनि अझ सहजीकरण गर्न सरकारले गृहकार्य गरिरहेको मन्त्री खाणले बताउनुभएको थियो । कार्यक्रममा वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले आफू र आफ्नी श्रीमतीले मरणोपरान्त शरीर दान दिएको जानकारी गराउनुभएको थियो ।

उहाँले मिर्गौला दिवसलाई हुलाक टिकटका माध्यमबाट देश–विदेशमा प्रचार गर्न आवश्यक व्यवस्था मिलाउन मन्त्री खाणलाई आग्रह गर्नुभएको थियो । उहाँले राखेको प्रस्तावलाई आफूले पहल गर्ने विचार व्यक्त गर्नुभएको हो । ‍कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, सांसद नवराज सिलवाल, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन एवं राष्ट्रिय मिर्गौला प्रत्यारोपण समन्वय समितिका अध्यक्ष प्रा डा दिव्या सिंह शाहलगायत सहभागी हुनुहुन्थ्यो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार