यूक्रेनबाट ३५ लाख मानिस विस्थापितः राष्ट्रसंघ

एजेन्सी । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकमा पुगेका छन् ।

त्यसैगरी अरू करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । यूक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रुअरी २४ देखि आक्रमण गरेको हो। आक्रमण र वार्ता अहिले पनि जारी छ। तर वार्ताले नतिजा दिन सकेको छैन।

‘पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान यूक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,’ यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने।यसैबीच युक्रेनका राष्ट्रपति भोल्दिमीर जेलेन्स्कीले रूससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन्। आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेतालाई आग्रह गरेका हुन्।

‘कृपया रूससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,’ उनले भने।भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उनले रूससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गरे।

‘रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने।जर्मनीलाई नामै लिएर उनले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गरे। युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उनले उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गरेका हुन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार