
जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ ।
मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताउनुभयो । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको समेत उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको बताउनुभयो । उहाँले नागरिकता सम्बन्धी मुद्दा समाधान गर्नका लागि कानुनी जटिलता हटाउने, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज गर्ने विषयमा सरकारले गम्भीरता देखाए आफ्नो पार्टी सरकारमा जान सक्ने बताउनुभयो । रातोपाटीबाट