एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गर्नुभएको छ । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताउनुभएको हो ।

बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताउनुभयो । ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उहाँले भन्नुभयो ।

उहाँले मन्त्रालयले बनाउन लागेको युटिलिटी करिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार