स्थानीय तह निर्वाचन : मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङमा करिब ४ हजार ६ सय कर्मचारी खटाइने भएको छ । मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका निर्वाचन केन्द्रहरूमा खटाउने कर्मचारीको व्यवस्था गर्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका निकायहरूसँग कर्मचारीको विवरण माग गरिसकिएको छ । हालसम्म ९ हजार कर्मचारीको विवरण निर्वाचन आयोगमा आइसकेको छ।

निर्वाचनका लागि प्रदेश १ मा प्रयाप्त कर्मचारी रहेकाले चाँडै निर्वाचनमा खटाउने कर्मचारीको विवरण तयार परिने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लवन कश्यप अधिकारील जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय निर्वाचनका लागि मोरङमा ३ सय मतदान स्थल र ८ सय २० वटा मतदान केन्द्र निर्धारण गरिएको छ। प्रत्येक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारीहरू खटाइनेछ।

५ सय भन्दा बढी मतदाता भए ५ जना कर्मचारी खटाउनु पर्ने व्यवस्था रहेको र मोरङका सबै मतदान केन्द्रमा ५ सय भन्दा बढी मतदाता रहेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रमा आवश्यकताका आधारमा केहि कर्मचारी स्वयंसेवकको रुपमा पनि खटाइने छ। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत निर्वाचन आयोगले तोकिसकेको छ।

तोकिएका मुख्य निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरूको कार्यालय चैत २९ गतेसम्ममा व्यवस्थापन गरिसक्ने निर्वाचन आयोगको तयारी रहेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार मोरङमा हालसम्म मतदाता शिक्षा सुरू गरिएको छैन । स्थानीय तहको निर्वाचनमा यो पटकदेखि मतदाता शिक्षाको जिम्मेवारी निर्वाचन अधिकृतहरूलाई नै दिइएका कारण प्रदेश निर्वाचन कार्यालयले मतदाता शिक्षाका कार्यक्रम यो वर्ष सञ्चालन नगर्ने कार्यालय प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार