प्रचण्ड र माधवबाहेक सबैसँग चुनावी तालमेल हुन सक्छ : पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी र समाजवादीसँग चुनावी तालमेल नगरे पनि उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्ध गर्ने दाबी गर्नुभयो।

‘प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले स्वीकार्छ,’ पोखरेलले भन्नुभयो, ‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ।’कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्न मद्दत गर्ने प्रचण्ड र माधव नेपालहरू कम्युनिष्ट हुन नसक्ने उहाँले जिकिर गर्नुभयो।अन्य दलहरूसँग तालमेलको सम्भावना औंल्याएका उहाँले बाहिर प्रचार गरिए जस्तै गरी राजावादीसंग गठबन्धन गर्न खोजेको भन्ने कुरा सही नभएको बताउनुभयो।

एमालेको गठबन्धन कसैसँग नहुने बरू तालमेल हुन सक्ने उहाँले तर्क गर्नुभयो।‘गठबन्धन गरी पहिले जस्तो अर्काको चुनाव चिन्हमा लड्न भन्ने कुरा हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यस्तो गठबन्धनको प्रयोग भइसक्यो र त्यो असफल काम रहेछ भन्ने पुष्टि भइसक्यो।’त्यस्तै, उहाँले चुनावका कारण मुलुकमा दुई दलीय ध्रुवीकरण भइसकेको बताउनुभयो।

मुलुकमा कांग्रेस र कम्युनिष्ट गरि दुई दलमात्रै बाँकी रहेको दाबी गरेका उहाँले कि कांग्रेससँग वा एमालेसँग ध्रुविकृत हुनुको विकल्प नरहेको दाबी गर्नुभयो । कांग्रेस बुर्जुवाको प्रतिनिधित्व गर्ने हुँदा कम्युनिष्ट हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। चुनावमार्फत् जनताले आफ्ना प्रतिनिधि छान्न पाउनका लागि हुने भन्दै उहाँले गठबन्धन गर्दा सबै ठाउँमा एउटै आउने उद्धेश्य राख्नु लोकतन्त्रको बर्खिलाप हुने महासचिव पोखरेलको भनाइ थियो।

‘आफ्ना प्रतिनिधि छान्न नपाउने गरी गठबन्धन हुन्छ भने त्यो कसरी लोकतान्त्रिक पद्धति मान्न सकिन्छरु,’ उहाँले भन्नुभयो, ‘त्यसैले गठबन्धन लोकतन्त्रको बर्खिलाप हो।’त्यस्तै, उहाँले बिना सिद्धान्त, बिना योजना सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको औचित्य नभएको तर्क गर्नुभयो।‘यो गठबन्धनको उद्धेश्य एमाले लक्षितमात्रै हो,’ उहाँले भन्नुभयो, ‘यो अपवित्र गठबन्धन धेरै टिक्दैन।’स्थानीय तहको निर्वाचनको माहोल एमालेको पक्षमा पार्नका लागि खटिन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार