नेविसंघले बुझायो परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार संघका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही गरेको भन्दै ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाका अनुसार ज्ञापनपत्रका साथ संघले विभिन्न सातवटा माग कार्यालयसमक्ष राखेको छ ।

त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यतालिकाअनुसार सम्पूर्ण कामहरू गर्नुपर्ने पहिलो माग छ । यस्तै, परीक्षा सकिएको तीन महिनाभित्रमा नै परीक्षा नतिजा प्रकाशन गरिसक्नुपर्ने, शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि अनलाइनमार्फत आवेदन दिन पाउने प्रविधिको व्यवस्था गर्नुपर्ने, प्रमाणपत्र प्राप्तिका लागि आवेदन दिएको २४ घण्टाभित्र प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग संघको छ ।

अध्यक्ष शेर्पाका अनुसार संघले परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण प्रमाणपत्रमा हुने त्रुटि सच्याउन आवेदन निःशुल्क हुनुपर्ने, सेवामुखी तथा आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्दै भइरहेको सम्पूर्ण ढिलासुस्ती हटाउनुपर्ने र अबको १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय परिषद्मा एउटा छुट्टै सहयोग कक्ष स्थापना गरी सेवा प्रदान गर्नुपर्ने माग राखिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार