विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : गुरुङ

पोखरा । नेकपा (एमाले)मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभइ भाषणका लागि मात्र खुलेका आरोप लगाउनुभएको छ ।

‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उहाँले भन्नुभयो, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’

एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उहाँको दाबी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ ।‘गाउँगाउँमा बाटो पुर्‍याउने, सिंचाइ पुर्‍याउने अभियान, पालिका वडावडामा खेल मैदान बनाउने अभियान अबरुद्ध भयो । नेपाली जनताको सपना तुहियो । यो सपनालाई फेरि ब्युँझाउन एमाले लाग्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘सारा युवाहरुको पार्टी एमाले हो । संसारको सपनाको देश अमेरिका भनेजस्तै नेपालमा सपनाको पार्टी नेकपा एमाले हो ।’

एमालेको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले सबैले भरोसा गर्न सक्ने पार्टी भएकोले एमालेले चुनाव जित्ने बताउनुभयो । ‘ज्येष्ठ नागरिकको आशा र भरोसाको पार्टी, युवाहरुको सपनाको पार्टी, ड्रीम पार्टी एमाले हो । मुलुकमा एमालेको सरकार भयो उद्यम खोल्न सक्छौँ । आदर्श, समृद्धीको सपना बोकेको पार्टी एमाले बनेको छ । त्यै भएर नेकपा एमालेलाई भोट हाल्नुपर्छ,’ गुरुङले भन्नुभयो ।माओवादीले सहिदहरुको सपना चकनाचुर पारेको भन्दै उहाँले एमालेले लोकतन्त्रलाई आत्मसात गरेको तर्क गर्नुभयो । नागरिकखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार