व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताउनुभएको छ । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्नुभयो ।

‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।’

जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि जरुर २४ चैत आउने उहाँले बताउनुभयो । राजसंस्थाविरुद्ध नेपालमा २४ चैत २०६२ मा जनआन्दोलन सुरु भएको थियो । १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको थियो ।

संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उहाँले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताउनुभयो । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उहाँले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताउनुभयो ।‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ ।

व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ’, उहाँले भन्नुभयो । २०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी चुनौती दिन चाहन्छौँ । व्यवस्थाको चुनाव गरेर देखाउ । हामी त्यो चुनावमा लड्न तयार छौँ । भाग लिन तयार छौँ’, उहाँले भन्नुभयो ।

‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो । ठेकेदारको चुनाव हो’, उहाँले भन्नुभयो, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रको अक्षमताका कारण देशमा चरम महंगी बढेको र आर्थिक संकट निम्तिन लागेको उहाँले बताउनुभयो ।

त्यस्तै, एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको उहाँले आरोप लगाउनुभयो । दुई वर्षको प्रतिबन्धमा नेकपाले १२ जना नेता गुमाउनुपरेको उहाँले बताउनुभयो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन उहाँले आग्रह गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार