स्थानीय तहले जनतालाई गुणस्तरिय सेवा दिन आवश्यक छ : प्रधानमन्त्री देउवा

दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्नुभएको छ । भर्चुअल मिटिङमार्फत देउवाले बिहान लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकारको सबैभन्दा प्रभावकारी निकाय भनेको स्थानीय तह भएको भन्दै उहाँले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। ‘स्थानीय तहले जनतालाई चुस्त र गुणस्तरीय सेवा दिन आवश्यक छ,’ देउवाले भन्नुभयो, ‘मलाई विश्वास छ, राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी ढंगले दिनेछ।’

नेपालको आवश्यकता भनेको स्थानीय उत्पादन वृद्धि गरि अत्यावश्यक वस्तु तथा सेवामा गाउँ ठाउँमै पहुँच विस्तार हुन जरूरी रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले भौतिक रूपमा आफू उपस्थित हुन नसके पनि भर्चुअल रूपमा भवन उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन आचारसंहिता लागेकाले प्रधानमन्त्री देउवाले भर्चुअल मिटिङमार्फत प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको प्रशासनिक भवन आठ करोड लागतमा निर्माण गरिएको हो। जसमध्ये चार करोड गाउँपालिका र चार करोड संघीय सरकारको लगानी छ।भवनमा ६५ वटा कोठा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं.७ का वडाध्यक्ष बिद्याचरण चौधरीले सेतोपाटीलाई जानकारी दिनुभयो। setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार