रघुगंगामा माओवादीबाट अध्यक्षमा चार जनाको उम्मेदवारी दावी

म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा राख्नुभएको हो ।

माओवादी केन्द्रको म्याग्दी–काठमाण्डौ सम्पर्क कमिटीको सल्लाहकार समेत रहनुभएकी महिला नेतृ मल्ल माओवादी शसस्त्र जनयुद्धमा पुर्णकालिन रुपमा होमिनुभएको थियो । रघुगंगा गाउँपालिका कमिटीको इन्चार्ज समेत रहनुभएका कटुवाल माओवादी केन्द्रबाटै २०७४ को स्थानीय तह निर्वाचनमा रघुगंगा–२ ,भगवतीको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएका भण्डारी गाउँपालिका कमिटीको अध्यक्ष र मेकानिकल इन्जीनियर समेत रहनुभएका शेरपुञ्जा जिल्ला समन्वय समितिको सदस्य हुनुहुन्छ । शेरपुञ्जाले दग्नाम–दरमिजा बिचमा रहेको अजिंगर भिरको सडक निर्माणमा कार्यक्षेत्रमा खटिएर नेतृत्व समेत गर्नुभएको थियो । चारै जना आकांक्षीहरुले कार्यकर्ता र शुभेच्छुकहरुको भावना अनुसार सहमतीमै उम्मेदवारको टुंगो लगाउने प्रतिबद्धता जनाउनुभएको छ ।

गाउँपालिका अध्यक्षका प्रत्यासीहरुले माओवादीकै अगुवाईमा व्यवस्था परिवर्तन भएको र माओवादीकै एजेण्डामा स्थापित संघीय व्यवस्था मार्फत जनतालाई विकास र शुसासनको अनुभुति दिलाउने प्रतिबद्धता सहित जनताको घरदैलोमा चुनाबी अभियान लिएर जाने बताएका छन् । माओवादी केन्द्रले रघुगंगाका पाँच वटा वडाका वडा अध्यक्षका उम्मेदवारहरुको समेत टुंगो लगाइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार