माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

बेनी । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ ।

अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित हुनुभएको छ ।

सिफारिस भएका मध्य विश्वकर्माको नाम अध्यक्षको उमेद्वारमा सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्रको मंगला गाउँ कमिटिले जनाएको छ । उपाध्यक्ष पदको उम्मेदवारमा सुकमायाँ रोका र सविना अधिकारीको नाम सिफारिस भएपनि छनौट भएको छैन् ।

मंगलाको पाँच वटै वडामा वडा अध्यक्षका उम्मेदवार भने सर्वसम्मत गरिएको छ । वडा नम्बर १ मा पृथिलाल विक, २ वडामा कुलप्रसाद पुन, ३ वडामा याम बहादुर रोका, ४ वडामा मनमायाँ चोचाङ्गे, ५ वडामा अष्टमान घर्तिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

मनमाया माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्ने एक्ली नेता हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य मनमाया हाल मंगला गाउँपालिका वडा नम्बर ४ को बाहलवाला कार्यवाहक वडा अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार