![](https://myagdinews.com/wp-content/uploads/2022/04/keshab.jpg)
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग स्पष्टीकरण मागेको हो ।
‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भन्नुभयो ।
केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवकारलाई लिएर स्पटीकरण सोधिएको उहाँले बताउनुभयो।कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जबाफ फर्काएका थिए ।
त्यसपछि स्थापित थप विवादमा तानिएका थिए । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घन्टाभित्र स्पटीकरण पेस गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भन्नुभयो।पत्र बुझेको चौबिस घन्टाभित्र स्थापितले स्पष्टीकरण आयोगसमक्ष बुझाउनु पर्ने उहाँले जनाउनुभयो । नागरिक खबरबाट