खेलाडी भन्छन्-प्रशिक्षकले भनेपछि प्रशिक्षण छाडेका हौं

काठमाडौँ । फुटबलको नेपाली राष्ट्रिय टिमको प्रशिक्षण छाडेका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बारम्बार छाड्न भनेपछि नै आफूहरु क्याम्पबाट बाहिरिएको दाबी गरेका छन् । उनीहरूले सोमबार यही आसयको ज्ञापन-पत्र पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन् ।

उनीहरूले ज्ञापन-पत्रमा भनेका छन्, ‘प्रशिक्षणका दौरान टोलीको कार्यवाहक नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षकको प्रश्न पश्चात जायज माग राख्दा उनीसँग प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गरेको व्यवहारप्रति हाम्रो असन्तुष्टि थियो । यसबारे नै कुरा गर्न जाँदा हामीलाई पटक–पटक क्याम्प छाड्न भनेपछि हामी बाहिरिएका हौं ।’

उनीहरूले बन्द प्रशिक्षक छाड्न अगाडि त्यसबारे सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकाश मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी दिएको पनि जनाएका छन् । अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले सोमबार नै ज्ञापन–पत्र बुझाउँदै समग्र घटनाक्रमको छानबिन गरेर दोषीलाई कारवाही गरियोस् भनेर माग राखेका छन् । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार