मुनामा गठबन्धनका उम्मेद्वारले भने ‘हामी विकास गरेर देखाउँछौं’

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका उम्मेद्वार रेशम पुनले धवलागिरीको समग्र विकासमा फड्को मार्न गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

“गाउँपालिकामा नियमित आउने बजेट पनि खर्च नभएर फिर्ता हुने, समयमा काम नहुने र ढिलासुस्ति हुने, सेवाका लागि पहुँच लगाउनुपर्ने समस्या हटाउछौ,” अध्यक्षका प्रत्यासी पुनले भन्नुभयो “हामीले नेतृत्वको अवसर पायौ भने नियमितका अतिरिक्त प्रदेश र संघीय सरकारबाट थप बजेट ल्याएर विकास निर्माणमा तिब्रता दिन्छौं ।”

उपाध्यक्षका उमेद्वार पुनले जडिवुटी, जंगल, जमिन, जलस्रोत र पर्यटनको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने, युवा, महिलालाई सिपयुक्त तालिम दिएर स्वरोजगार बनाउने र पशुपालनलाई ब्यवसायिकरण गरेर आयआर्जन सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)ले सम्भावना भएपनि धवलागिरीको जलविद्युत, पर्यटन र जडिवुटीको विकासमा लगानीकर्ता भित्र्न नसक्नुको दोषी स्थानीय सरकारको अहिले नेतृत्व गरिरहेकाहरु भएका बताउनुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा निर्वाचन परिचालन समितिका संयोजक याम हर्मेलले गठबन्धनका युवा उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । असक्षम र असफल नेतृत्वका कारण धवलागिरी गाउँपालिका पछाडी परेको उहाँको दावी थियो ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य खुमनाथ सुवेदी, विशेष प्रदेश सदस्य अर्जुन थापा, माओवादीका गाउँपालिका अध्यक्ष यामन रोका, काँग्रेसका नेता तमबहादुर भण्डारी, तेजिन्द्र थापाले देशको राजनीतिक परिवर्तन र प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।

नेपाली काँग्रेसका वडा इकाई सभापति जंगबहादुर भण्डारी र माओवादीका वडा कमिटी अध्यक्ष थबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काँग्रेसका पालिका सचिव नगेन्द्र मल्लले बताउनुभयो । गठबन्धनबाट काँग्रेसका वडा अध्यक्षका उमेद्वार देवेन्द्र रोका लगायतले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार