महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताउनुभएको छ । आज जेठ १६ गते महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी लगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थामा शुभकामना दिनुभएको छ । लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताउनुभएको छ । नेपालको संविधानले महिलामा हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ।

संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्ति लगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ। महिला सशक्तीकरण हामी सबैको सरोकारको साझा विषय भएकाले यस विषयमा सबैले समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले

विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैगिक, सामाजिक आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न तथा विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । दिगो विकासका लागि पुरुष र महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै उहाँले यस तथ्यलाई मध्यनजर गरी सरकारले राज्यको सबै तह र संरचनामा महिलालाई अधिकाधिक प्रतिनिधित्व गराउने नीति लिंदै आएको बताउनुभएको छ ।

नेपाल सरकारले लैगिक विभेद तथा हिंसाका घटनालाई निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैगिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै उहाँले दिवसको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार