चुलो बाँड्न प्रतिपक्षीलाई पनि सँगै लिएर जाउँला : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पार्नुभएको छ । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताउनुभयो ।

प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित रहेर लोकप्रियताका लागि ल्याइएको आरोप लगाएको सन्दर्भमा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको’ आरोप लगाइएको तर्फ केन्द्रित हुँदै उहाँले भन्नुभयो, ‘यो निर्वाचनसँग सम्बन्धित कुरा होइन ।

प्रतिपक्षलाई पनि सँगै लगेर बाँडौँला । भोट साट्ने कुरा छैन, ढुक्क हुनुभए हुन्छ ।’ उहाँले पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले शिक्षामा सरकारले बजेट बढाएको तर्क गर्दै हरेक युवालाई सीपयुक्त बनाउने कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१२ कक्षा पढ्दा पढ्दै सिप सिकाएर बजारमा काम गर्न सक्ने बनाउने कुरा छ ।’

बजेट वक्तव्य तयार गर्दा कुनचाहिँ कुरा राख्ने, कुनचाहिँ कुरा काट्ने भन्ने द्विविधा हुने प्रस्ट पार्दै उहाँले कतिपय कुरा समावेश गर्न छुटे पनि सरकारको प्राथमिकतामा रहेको प्रस्ट पार्नुभयो । निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिएको भन्दै उहाँले स्वास्थ्य क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । यस्तै, कृषिमा पनि सरकारले प्राथमिकताका साथ कार्यक्रम राखेको जनाउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार