यी साथीहरु जान्छन्, भोलि नयाँ टोली आउँछ : पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गर्नुभएको छ । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी गर्नुभएको हो ।

‘फिर्ता हुने र नहुने त भोलि बेलुकासम्मा थाहा पाउनुहुन्छ’, मन्त्रीहरु फिर्ता हुन मानेनन् अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘यी साथीहरु जान्छन्, अर्को टोली आउँछ ।’ उहाँले पार्टी भन्दा मन्त्रीहरु पावरफूल भएको नभइ परिस्थिति त्यस्तो बनिदिएको बताउनुभयो । पार्टीको पोलिटब्युरो बैठकपछि उहाँले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने क्रममा केही प्रक्रियामा कमजोरी भने भएको स्वीकारे । बजेटबारे छलफल भइरहेको बेला पार्टीले अली छाँचो निर्णय गरेर कमजोरी भएको उहाँको भनाइ छ ।

बजेटमा मन्त्रीहरुले जवाफ पनि दिइरहेकाले अब मन्त्री फेर्दा केही नहुने उहाँले बताउनुभयो । पाण्डेले अहिले भइरहेका मन्त्रीहरुलाई छ महिनाका लागि सरकारमा पठाएकाले अझै पनि बसिरहन्छु भन्नुको अर्थ नरहेको उहाँको भनाइ छ । ‘त्यतिबेलै तपाईँहरुलाई परिवर्तन गरेर अर्को टीम पठाउँछौ भनेको हो । पार्टीको राजकीय विभागको प्रमुख म हुँ । माधव नेपालसँगको छलफलमा म पनि भएकाले यसबारे मलाई जानकारी छ’, उहाँले भन्नुभयो, ‘मन्त्री पद भनेको चार्मफुल पद नै हो । सबै भोलि बेलुका थाहा हुन्छ । नयाँ टोली आउँछ मन्त्रीमा । यी साथीहरु भोलि जान्छन् । मैले बोलेपछि हुन्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार