विकासका काममा भद्दा राजनीति नगरौं : पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा भद्दा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं.१५ र सैनामैना नगरपालिका वडा नं.१ लाई जोड्ने दानव नदी (कर्साघाट) पुलको सोमबार उद्घाटन गर्दै पौडेलले तिनाउ दानव करिडोर निर्माणका विरूद्ध अनावश्यक र भद्दा राजनीति गरिएको भन्दै विकास निर्माणका काममा राजनीति नगर्न आग्रह गर्नुभएको हो।

करिडोर निर्माण गर्दा तिनाउ दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने र नदी किनारमा जोखिम मोलेर बसेकाहरूलाई जबर्जस्त हटाउने नभई राम्रो र व्यवस्थित ठाउँमा पूर्वाधार विकास गरेर स्थानान्तरण गर्ने भन्दै अरूको बहकाउमा नलाग्न नदी किनारमा बसेकाहरूलाई पनि सुझाव दिनुभयो।

बुटवलवासीको माग र भावनाअनुरूप विकासका आयोजना अगाडि सारिएको भन्दै पौडेलले तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा करिडोर निर्माण हुँदा बुटवलको सुन्दरता झनै थपिने बताउनुभयो।‘नदीको संरक्षण गर्दै हरियाली सहितको करिडोर निर्माण गर्दा आसपासको बस्ती समेत सुरक्षित बन्छ, पानीको बहाव क्षेत्रमै गएर घर–टहरा बनाएर बसेकाहरूलाई अन्यत्रै लगेर स्थानान्तरण गरिन्छ,’ पौडेलले भन्नुभयो।

विकास निर्माणको हिसाबले रूपन्देही जिल्ला मात्र होइन सिंगो लुम्बिनी प्रदेश नै अब्बल रहेको उल्लेख गर्दै पौडेलले केही वर्षभित्रै विकासको मोडल हेर्न रूपन्देही आउने वातावरण बन्ने बताउनुभयो।रूपन्देही विकासको मोडल बनिरहेको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया बुटवल ६ लेन सडक, भैरहवा लुम्बिनी सडक, बेलबास बेथरी सडक लगायतका आयोजना निर्माणको काम पूरा भइसक्दा रूपन्देही विकासको मानक बनिसकेको दाबी गर्नुभयो।

रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेलले विमानस्थलको दोस्रो चरणको काम, तिनाउ नदिमाथि नेपालकै पहिलो सिग्नेचर ब्रिज र बुटवलदेखि चन्द्रौटासम्मको सडक चौडा बनाउने कामको प्रक्रिया पनि केही समयभित्रै सुरू गरिने बताउनुभयो।बुटवल तानसेन सडकखण्डलाई सुरक्षित बनाउन सिद्धबाबामा सुरूङमार्ग र बुटवल नारायणगढ सडक निर्माण पूरा हुँदा बुटवल देशकै प्रमुख सहरको रूपमा स्थापित भइसक्ने दाबी गर्नुभयो।

उहाँले ५० वर्ष पछिको बुटवलको परिकल्पना गरी विकास आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई समयमा सम्पन्न गराउने काममा नागरिकको साथ र खबरदारीको खाँचो रहेको बताउनुभयो । कुल १ सय २७ मिटर लम्बाइ र ११ मिटर चौडाइको दानव नदी पुल १३ करोड ९० लाख ३६ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणको लागि अर्घाखाँची बाबुल जेभी रूपन्देहीले २०७४ साल असार २९ गते ठेक्का सम्झौता गरी काम सुरू गरेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार