मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेरिकाबाट छोरा अमर भण्डारीको नेतृत्वमा मुना भण्डारी ,प्रकाश भण्डारी ,राजेन्द्र केसी ,ओमकार पुन ,मणिलाल बिक लगायतबाट संकलन गरेर पठाएको ७० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको बताउनुभयो । साथै कांग्रेस म्याग्दीका नेता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवि शर्माले समेत दुई हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

उक्त रकम शनिबार एक कार्यक्रमका बिच कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता शर्मा ,समाजसेवी तथा पुर्व जिविस सदस्य भण्डारीले मृगौला पीडित सुवेदी र श्रीमान बालकृष्ण आचार्यलाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्दै शर्माले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आर्थिक सहयोगले पीडित परिवारलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मृगौला पीडित सुवेदीले सहयोगीहिरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोग रकम उपचारमा खर्च गर्ने बताउनुभयो । सुवेदीको केही समय अघि मात्र काठमाडौं स्थित टिचिङ अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको छ । निशा सुवेदीका अनुसार ,आमा फुलकुमारी सुवेदीले मृगौला दिनुभएको हो ।

२ साउन २०७६ मा बेनी अस्पतालमा सुत्केरी भएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परिक्षणका क्रममा सुवेदीको दुबै मृगौला फेल भएको रिपोर्ट आएको थियो । मृगौला प्रत्यारोपणको लागि काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको थियो ।

२९ बर्षिया सुवेदीले औषधी सेवन गर्दै आउनुभएको छ । उहाँका अनुसार ,फलोअपको लागि प्रत्येक तीन महिनामा एक पटक अस्पताल जानुपर्छ । कमजोर आर्थिक अवस्था भएकोले यस अघि उपचारका लागि भाई नेत्रराज सुवेदीकाे संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो ।अहिलेसम्म करिब १६ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताउनुभयो । सुवेदीका एक छोरा हुनुहुन्छ । आमा संगै सुवेदीका परिवार बेनी नगरपालिका–८,स्थित खोरियामा बस्नुहुन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार