बेनीमा पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन तथा प्रवनचनसम्बन्धी कार्यक्रम जारी (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा महर्षि पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन कार्यक्रम जारीरहेको छ । यही साउन १ गतेदेखि नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको आयोजनामा योग साधकीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।

मानव जीवनमा योगको महत्वबारे बुझाउन र संस्थाले आफ्नै योगसाधना हल निर्माण गरी सञ्चालन गर्ने लक्ष्यबारे जानकारी गराउन सहभागी बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । आउँदो १४ गतेसम्म चल्ने कार्यक्रममा हरेक दिन बिहान ५ बजेदेखि साढे ५ बजेसम्म नियमित योग साधना र साढे ५ बजेदेखि साढे ६ र बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म जीवन मन्थन तथा प्रवचन कार्यक्रम भैरहेको छ ।

प्रत्येक दिन बिहान र बेलुकाको समयमा फरकफरक क्षेत्रका व्यक्तिहरुलाई अतिथिको रुपमा बोलाएर कार्यक्रमको शुभारम्भ गराउने गरिएको छ । योग केन्द्रमार्फत नियमित रुपमा योग साधना र समुदायस्तरमा योगसम्बन्धी शिविरहरु आयोजना गर्ने गरिएको केन्द्रले जनाएको छ । यसअघि कोरोनाकालमा क्वारेन्टाइनमा योग साधना सञ्चालन गर्नुका साथै क्याम्पस र विद्यालयहरुमा योग कक्षा सञ्चालन तथा विभिन्न विषयहरुमा आधारित रहेर दार्शनिक कार्यक्रमहरु पनि सञ्चालन हुँदै आइरहेको थियो ।

योग केन्द्रको भवन निर्माण गर्नका लागि सर्वसाधारण, उद्योगी, व्यवसायी, साहुमहाजन, विभिन्न संघसंस्था तथा स्थानीय तह र प्रदेशसँग समेत सहकार्य गरेर आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रममा बिहान र बेलुकाको समयमा योग साधना र प्रवचनहरु सुनाउनुका साथै योगाभ्यास पनि गर्ने गरिएको छ । उक्त जीवन मन्थन कार्यक्रममा वैराग्यवान युवा तपस्वी सन्त शुभ साहेवले प्रवचन सुनाइरहनुभएको छ ।

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय योगाप्रति सर्वसाधारण नागरिकहरुको दैनिकजसो आकर्षण बढ्दै जान थालेको छ । सदरमुकाम बेनीमा नवीन आनन्द योग केन्द्रमार्फत सुरु भएको योग अहिले तातोपानी, दरबाङलगायत ग्रामीण क्षेत्रमा पनि सञ्चालन हुँदै गएको छ । मानव जीवनमा व्यस्त दैनिकी तथा विभिन्न कारणले उत्पन्न तनावलाई कम गर्न योग महत्वपूर्ण रहेको योगीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार