भारतलाई रोक्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन लिगको आफ्नो तेस्रो खेलमा आइतबार चिरपरिचित प्रतिद्वन्द्वी साविक विजेता भारतको सामना गर्दैछ ।खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । फाइनल दौडमा बंगलादेशसँगै नेपाल र भारत रहेको छ । सानदार सुरुवात गरेको नेपाल घरेलु टोली तथा साविकको विजेता भारतलाई रोक्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । भारतलाई हराउन सके नेपाल एक खेल बाँकी छँदै फाइनलमा पुग्नेछ ।

नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा पनि नेपाल फाइनल पुग्ने सम्भावना रहन्छ तर त्यसका लागि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ । भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरह हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।

भारत च्याम्पियनसिपको साविक विजेता हो भने नेपाल सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जुनसुकै स्तरको खेल भएपनि नेपाल र भारतबीचको खेल सबैका लागि विशेष हुने गर्दछ ।भारत पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै जितको लयमा फर्किएको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० र बुधबार भएको खेलमा श्रीलंकालाई ३–० ले हराएको थियो ।नेपालले दुई खेलमा ७ गोल गर्दा एक गोल पनि बेहोरेको छैन । मनग्य नकर्मी र कृतिश रत्न छुन्जुले समान दुई तथा कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले समान एक गोल गर्नुभएकाे छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टोली चार देशसँग खेल्न आएको र सबै प्रतिस्पर्धीलाई एकै नजरमा हेरेको बताउनुभएको । ‘विशेष केही छैन । टिममा विश्वास छ । टिमवर्क भएर जुन प्रकारले मिहेनत गरेको छ । त्यो अनुसार प्रदर्शन गर्नेमा विश्वस्त छु,’ खेल अघि प्रशिक्षक केसीले भन्नुभयो , ‘भारतलाई हराउन मिहेनत गर्नुपर्छ । उमेर समुहमा दक्षिण एसियाको स्तर एकै हो कहिलेकाही तलमाथि हुने कुरा छुट्टै हो । सकेसम्म राम्रो खेलेर हराउने प्रयास गर्नेछौं ।’

उहाँले टोली भारतविरुद्ध टोली तयार रहेको र टोलीका सबै खेलाडी फिट रहेको बताउनुभयो। भारतका मुख्य प्रशिक्षक सणमुगम वेन्कटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले नेपालसँग पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने बताउनुभएको छ । ‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ । हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हौं । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो,’ उहाँले भन्नुभयो , ‘अब हामी नेपालको सामना गर्न पूरा तयार छौं । त्यहीअनुसार तयारी गरेका छौं । नेपालमाथि जित निकाल्छौं भन्नेमा विश्वस्त छु ।’

राउन्ड रोविन लिगको तीन चरणको खेल जारी रहँदा बंगलादेश तीन खेलमा तीन जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत दुई खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोल्न सकेका छैनन् । श्रीलंका भने बाहिरिएको छ ।नेपाले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि २० साउनमा प्रतिस्पर्धा गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार