म्याग्दीमा आईतबार १० बजेदेखि साँज ५ बजेभित्रै मनोनयन दर्ता हुने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता आईतबार १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन नलिने मुख्य निर्वाचन अधिकृत कृष्णा प्रसाद नेपालले जानकारी गराएका छन् ।

शनिबार जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मनोनय दर्ता सम्वन्धी राजनीतिक दल र पत्रकार लगायतलाई जानकारी गराएको थियो । निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले दलहरूलाई आग्रह गरेका छन् । उम्मेदवारी दर्ता स्थलमा १० वटा पाटीको झण्डा र २५ जनाभन्दा बढीको जुलुस गर्न पाईने छैन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोकेको छ । निर्वाचन आयोगले म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारका लागि ३१ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारका लागि क निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ख निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ खर्च गर्न सकिने उल्लेख गरेको छ ।

तोकिएको रकमबाट मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठि, अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा वा विद्युतिय माध्यम सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयमा खर्च गर्न सकिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी गराए ।

राजनीतिक दलले जुलुस आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई २४ घण्टा अघिनै कार्यक्रम हुने स्थान र समयको जानकारी गराउनुपर्ने उल्लेख छ । सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह् राख्न नहुने आचारसंहितामा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले अपाङ्ग, गर्भपति, ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म सहज रुपमा पुग्नका लागि मापदण्ड अनुसार सवारी चल्न दिने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार