स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम संकलन गरिएको हो ।

उक्त रकम आइतबार मोना नेदरल्याण्डका संस्थापक अध्यक्ष जंगबहादुर पुनका दाजु एवं घोरेपानीका होटल व्यवसायी टेकसर पुनले मन्जु उपचार सहयोग अभियानका सहसंयोजक भुपेन्द्र बुढाथोकी मगरलाई हस्तान्तरण गर्नुभयो । ४० बर्षिया मन्जु बिक भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचाररत हुनुहुन्छ ।

करिब तीन बर्षदेखि क्यान्सर रोगबाट पीडित मन्जुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण मन्जुको उपचारका लागि आर्थिक सहयोग रकम संकलन थालिएको थियो । अहिलेसम्म उपचारको लागि करिब आठ लाख रुपैयाँ संकलन भएको सहसंयोजक बुढाथोकी मगरले बताउनुभयो ।उपचारका लागि ठुलो खर्च लाग्ने भएकाले सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार