२०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश गरेको हो ।

आयोजक म्याग्दी जेसिजका शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले शनिबार दिउँसो १० बजे बेनीको खुल्लामञ्च खेल मैदानमा फाइनल हुने जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भएको दोस्रो पटकमा शारदा मावि फाइनलमा पुगेको हो । प्रकाश मावीले यसअघि ५ पटकसम्म जेसीजकप जितेको छ । बेनी सामुदायिकसँगको सेमि फाइनलमा प्रकाश माविको तर्फबाट एक मात्र गोल गरेका रिजन पुनले प्लेयर अफ दि म्याचको उपाधी पाए ।

साविक विजेता र उपाधीको दावेदार मानिएको न्यु वेष्ट पाइन्ट आवासीय माविलाई क्वाटर फाइनलमा किसानी चन्द्रकुन्ताले पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोल गरेको थियो । शारदासँग किसानी चन्द्रकुन्ता १ का विरुद्ध ० गोल अन्तरले पराजित हुन पुग्यो । शारदाका मिलन दर्जीले गोल गरे भने सिमन सिउथानीले प्लेयर अफ द म्याचको उपाधी पाए ।

क्वाटर फाइनलमा प्रकाश मावीले बेनी बोर्डिङलाई पेनाल्टी सुट आउनमा २ का विरुद्ध ४ गोल गरेको थियो । सो खेलमा प्रकाश मावीका सन्तोष तामाङले प्लेयर अफ द म्याचको उपाधी पाएका थिए । बुधबारदेखि शुरु भएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सेमी फाइनलमा पुग्ने २ टिमलाई ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ ।

जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार