नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)

  धनिलाल गर्बुजा

म्याग्दी । जिल्लाको अन्नपुर्ण गाउँपालिका–४,नारच्याङ स्थित बेशीमा कृषकको सुविधाको लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीयस्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषि उपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि कृषकलाई सहज भएको छ ।

 

दश टन क्षमताको केन्द्रमा अहिले करिब चार टन सुन्तला भण्डारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (सुन्तला जोन) कार्यक्रमबाट १३ लाख रुपियाँ १३ लाख अनुदान र ब्यक्तिगत ८ लाख बढी लगानी गरी कुल २३ लाख रुपैयाँ लागतमा निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेमबहादुर गुरुङले बताउनुभयो ।

सिजनमा उत्पादन हुने सुन्तललाई केन्द्रले बोटमै बाहिरी जिल्लाका ब्यापारीको तुलनामा प्रतिकेजी १५ देखि २० रुपैयाँ मुल्य बढी दिएपछि स्थानीय किसान उत्साहित भएका छन् । ‘कृषकहरुले स्थानीयस्तरमा उत्पादन गरेको सुन्तला खरिद र आफ्नै बगैचाको करिब चार हजार टन सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु’,उहाँले भन्नुभयो । अहिले भण्डारण गरिएको सुन्तला चैत–बैशाखको बेसिजनमा बजारमा पठाउने उहाँको भनाइ छ । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने योजना सुनाउनुभयो ।

अहिले प्रतिकेजी ६० देखि ७० रुपैयाँका दरले बिक्री भएको सुन्तला चैत–बैशाखसम्म राख्दा प्रतिकेजी १६० देखि २०० रुपैयाँ मुल्य सम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए । समयमा फल नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या भएको थियो । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनुभयो । धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको छ । चिस्यानगृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार