मंगला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनबाङस्थित खेलमैदान सूरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । माघ १५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधामा प्रतिस्पर्धा हुनेछ् ।

जिसस प्रमुख थापाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँपालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक र विद्याथीहरु मिलेर योजनाबद्ध कार्यक्रमहरु निर्माण गर्दै कार्यान्वयन गनुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्लास्तर हुँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमा खत्री अधिकारी, प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर खत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाको केन्द्र बावियाँचौरबाट बाजागाजासहित विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेर कार्यक्रमस्थल रनबाङ पुगेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार