बेनी । म्याग्दीको बेनी नगरपालीका–४,स्थित प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले माघ महिनामा सबैभन्दा बढी दुई हजार ३८० जनाले स्नान गरेका जानकारी दिनुभयो ।
साउनमा २२४, भदौमा ४११, असोजमा एक हजार ९०२, कात्तिकमा एक हजार ५४८, मंसिरमा एक हजार ३१९ र पुषमा एक हजार ३८० जनाले स्नान गरेका छन् । बागलुङ, कास्की, मुस्ताङ, पर्वत, काठमाडौ, चितवन, कपिलवस्तु, नवलपुर, गोरखा, लमजुङ, सुनसरी, रामेछाप, बर्दिया, गुल्मी, प्युठान, तनहुँ, स्याङ्जा, पाँचथर, मकवानपुर, रोल्पा, मोरङ, झापा, धादिङ लगायत ३१ जिल्लाबाट स्नानका लागि आएका समितिले जनाएको छ ।
म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । सात देखि दश दिन स्नान गर्नका लागि कुण्ड व्यवस्थापन समितिलाई प्रतिव्यक्ति ३५० रुपैयाँ शूल्क तिर्नुपर्छ ।
विरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । एक दिनमा दुई पटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङंकेट, पलास्टीक, काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट चितचित पसिना निस्कदा सम्म विश्राम गरिन्छ । छोटो समयका लागि स्नान गर्नेहरुलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ शूल्क तोकिएको छ ।
महिला र पुरुषलाई फरक फरक समय तालिका बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । दैनिक दुई÷दुई घण्टाका दरले पुरुष र महिलालाई दुई÷दुई वटा सामूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो । स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । तातोपानी कुण्डबाट आम्दानी भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिदै आएको छ ।