पिप्लेमा विल्डीङ इलेक्ट्रिसियन तालिम

  म्याग्दी न्युज संवाददाता

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा मंगलबार विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि स्वरोजगार सिर्जना गर्न ३९० घण्टा अवधिको तालिम समापन गरिएको हो ।

रघुगंगा हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेर ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणाधिन छ । पुषको १९ गतेबाट शुरु भएको तालिममा रघुगंगा गाउँपालिकाको ३ र ४ नम्बर वडाका २० जना युवाहरु सहभागि भएका थिए ।

तालिमको समापन गर्नुहुदै रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले सिकेको सिपको सदुपयोग गरेर स्वरोजगार बन्न युवाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकामा सञ्चालित अन्य आयोजना र अन्य प्रभावित वडाका बासिन्दाहरुका लागि पनि सिपमुलक तालिम सञ्चालन गर्न पहल गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

तालिममा घरमा वायरिङ र मर्मत गर्ने प्राविधिक, सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप प्रदान गरिएको थियो । यो विल्डीङ वायरिङ सम्बन्धी पहिलो चरणको तालिम हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटी) को बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिम सञ्चालनका लागि बालाजु स्कुलले दुई जना जनशक्ति परिचालन गरेको थियो । स्थानीय स्तरमा घर, भवन वायरिङ गर्न सक्ने जनशक्ति उत्पादन गरि स्वरोजगार तथा विदेश जानु परेपनि उचित पारिश्रमिक पाउने सम्भावना भएको तालिम सञ्चालन गरिएको आयोजना प्रमुख राजबहादुर बिष्टले बताउनुभयो ।

विल्डीङ वायरीङको सिपले स्वरोजगार बन्नुका साथै जलविद्युत आयोजना, विद्युतीकरणका काममा पनि रोजगारी पाउने सम्भावना हुनेछ । सिटिइभिटिका प्रतिनिधि रघुवर लाल जोशीको समेत उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रगुगंगा हाइड्रोपावरको प्रशासन शाखाका अधिकृत विज्ञान सुवेदीले गर्नुभएको थियो ।

वि.स. २०७३ मा स्थापना भएको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले रघुगंगा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार