ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड

  म्याग्दी न्युज संवाददाता

ताकम । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र धारापानीमा बिहिबार स्थानीय वासीसँगको भेटघाट र अन्तरक्रियामा सहभागि हुदै जुग्जालीले म्याग्दी हुदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो ।

यसैगरी देशका धेरै पर्यटकीय गन्तब्यहरु सडकका कारण विस्थापित र पर्यटकको बसाई छोटिएका कारण अब धौलागिरी, अन्नपूर्ण, गुर्जा आधार शिविर र हिमाललाई केन्द्रित गरेर योजना बनाउन पालिका र संघीय सरकारसँग समन्वय गरेको जुग्जालीले बताउनुभयो ।

स्थानीय विकासका लागि समाज एकतावद्ध भएर सामुहिक हितको र जनजिवनलाई सुधार ल्याउने किसिमका योजना बनाउन अनुरोध गर्दै त्यसलाई कार्यान्वयन गर्न आफूहरु सक्रीयतापुर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

गत चुनावमा जनतासँग गरेको बाचा र प्रतिवद्धता अनुसारनै पछिल्लो पटक राजनीतिक समिकरण बनेको बताउँदै अहिलेको गठबन्धन पाँच बर्षसम्मनै टिक्ने विश्वास दिलाउनुभयो । करिब दुई महिना गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका जुग्जालीले एमाले नेतृत्वको अहिलेको सरकारलाई विस्थापित गर्न माओवादीले विश्वासको मत फिर्ता लिएर सरकारबाट बाहिरिएको र अल्पमतमा परेको प्रदेश सरकारको आयु सकिन लागेको तथा छिट्ट्ै गठबन्धनको सरकार बन्ने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अघिल्लो कार्यकालमा दुई पटक संसद विघटन गरेको ठिक हो भन्दै संसदमा सम्बोधन गरेपछि संविधानको रक्षा, शान्ति प्रक्रीयाको बाँकी काम पुरा गराउन, विकास, शुसासन र सम्बृद्धीको सपना पुरा गर्न संविधान बचाउन चाहने राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएको बताउनुभयो ।

सांसद जुग्जालीले गाउँपालिकामा प्रदेश सरकार मार्फत सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन समेत गर्नुभएको थियो । स्थानीयबासीहरुले दरवाङ–धारापानी, भरवाङ मोटरेबल पुल, दाङखोला पुल, ताकम अस्पतालको भवन लगायतका योजना निर्माणमा भएको ढिलाईका विषयमा ध्यानाकर्षण गराएका थिए । युवा क्लव, आमा समूह, विद्यालय र विभिन्न संघ संस्थाले जुग्जालीलाई सम्मान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार