बेग र बाँदुक जोड्ने झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१,स्थित बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको हो । उक्त पुल पाँच बर्ष अघि निर्माण भएको हो ।

रघुगंगा गाउँपालिका–वडा नम्बर १ बेगले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनौटमा भूमिका खेल्ने तत्कालिन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले संयुक्त रुपमा पुलको उद्घाटन गर्नुभएको थियो ।

पुल निर्माण कार्य सकिएको भएपनि पुलबाट बेग र बाँदुक तर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदाय स्तरबाट चौतारी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण भएपछि पुल निर्माण भएको पाँच बर्षपछि उद्घाटन गर्नुपरेको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक–लामो पुल हुँदै बेग भएर पर्यटकीय स्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरी आइसफल पदमार्गमा जोड्ने योजना बनाएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको यस झोलुङ्गे पुलको १४८ मिटर भन्दा बढी अग्लाइ छ । विक्रम संवत २०७३ साउन महिनादेखि निर्माण सुरु भएको आयोजना २०७४ वैशाख ३० गते सम्पन्न भएको थियो । तत्कालिन जिल्ला विकास समितिले २ करोड ७९ लाख ९० हजार रुपैयाँ लागतमा यो पुल निर्माणको लागि मुक्तिनाथ÷श्री गिता जेभीलाई ठेक्का लगाएको थियो ।पुल निर्माणको लागि जिल्ला समन्वय समिति र स्थानीयको ३६ लाख रुपैयाँ बराबरको लगानीमा दुबै तर्फबाट सडकको पहुँचमार्ग विस्तार गरिएको थियो । यो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेग गाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटीएको छ ।

भिर र खोला नालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता लामो पुल निर्माणले हटाएपछि स्थानीयबासी उत्साहित बनेका छन् । पुल उद्घाटन कार्यक्रममा सरिक हुन प्रवासी बेगखोलाबासी समेत गृहगाउँ आएका थिए भने स्थानीयबासीले बाजागाजा सहित उत्सव बनाएका थिए । वडा अध्यक्ष फगामीको अध्यक्षता ,वडा सदस्य सेमिता पुनको स्वागत र खिमबहादुर पुनको सञ्चालनमा पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।यसैगरी पुल निर्माणमा सहयोग पु¥याउने तत्कालिन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल ,सांसद तथा कांग्रेस म्याग्दीका सभापति गर्बुजा ,ओमकुमारी फगामी र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार