बाढीले कल्भर्ट बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी । मंगलबार राति परेको अविरल बर्षातसंगै आएको बाढीले कल्भर्ट बगाउँदा बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२,भुरुङ तातोपानी स्थित भुरुङ खोलामा आएको बाढीले बेनी –जोमसोम सडकको कल्भर्ट बगाउँदा म्याग्दी सदरमुकाम बेनी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गलाई जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुन विहानैदेखि स्थलगत रुपमा खटिनुभएको छ । उहाँका अनुसार सिधा यातायात सुचारु गराउन प्रयास भइरहेको भएपनि समय लाग्ने भएको छ । अवरुद्ध सडक यातायात सुचारु गराउन कालिगण्डकी करिडोर आयोजनालाई खबर गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । साथै तीन वटा विद्युतको पोल संगै खानेपानीको पाइप बगाएको छ । सडक अवरुद्ध हुँदा सर्वोदय माविमा विदा दिइएको छ ।

६ जेठमा आएको रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । ७६ किलोमिटर दुरीको सडक अवरुद्ध हुँदा मुस्ताङका जाने तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । भारी वर्षा हुने क्रम जारी रहँदा खहरे खोलामा ठूलो बाढी आएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार