स्वास्थ्य कार्यालयको बार्षिक प्रगति सार्वजनिक ,करिब चार सय जनालाई सुत्केरी पोषण खर्च वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार ,म्याग्दीका करिब चार सय जना सुत्केरीले ३५ लाख रुपैयाँ भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत ३५ लाख ५५ हजार रुपैयाँ वितरण गरिएको हो ।स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले विपन्न, दलित र लोपोन्मुख समुदायका आमा र शिशूलाई पोषणको कमी हुन नदिनका लागि ‘सुत्केरी पोषिलो खर्च’ वापत रुपैयाँ नौ हजारका दरले वितरण गरिएको जानकारी दिनुभयो ।

‘संघीय अनुदानमा प्रदेश सरकारले सुत्केरी पोषिलो खर्च वितरण गर्न आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीमा ७८ लाख रुपैयाँ बजेट पठाएको थियो,’ उहाँले भन्नुभयो, ‘संस्थागत प्रसुति सेवा लिएका दलितका साथै स्थानीय तहले प्रमाणित गरेको आधार विपन्न र लोपोन्मुख समुदायका सुत्केरीलाई उनिहरुको बैंक खातामा रकम पठाइएको हो ।’२० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माएका र नागरिकता नभएका किशोरी सुत्केरीहरु भने यो सुविधाबाट बञ्चित भएका छन् । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन र पोषणको विषयमा सचेतना फैलाउनुका साथै यस वर्षदेखि खर्च उपलब्ध गराउन थालिएको हो ।

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो । यसैगरी म्याग्दीका ३३ वटा खानेपानीका मुहानमा पिउन अयोग्य ‘इकोली’ जिवाणु भेटिएको छ ।दिसामा भेटिने इकोली जिवाणुले झाडापखलाजन्य रोग निम्त्याउँछ । जिल्लाभर १११ वटा मुहानको पानी परिक्षण गर्दा ३३ वटामा इकोली जिवाणु भेटिएको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको १९ वटा मुहानको परिक्षण गर्दा कुनैमा पनि इकोली भेटिएन् । बेनी नगरपालिकाको ४७ वटा मुहानमा १४ वटामा, मंगला गाउँपाकिलाको ७ वटा मध्य ४ वटामा, मालिका गाउँपालिकाको ८ वटा मध्य ४ वटामा, रघुगंगाको २२ मध्य ७ र धवलागिरीको ८ मध्य ४ वटामा इकोलीको जिवाणु भेटिएको छ ।आगामी आर्थिक वर्षमा इकोली जिवाणु भेटिएको मुहानमा पानी शुद्धिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन भएको कुल पाँच करोड दश लाख ४२ हजार रुपैयाँ मध्य तीन करोड सत्तरी लाख ७९ हजार ४०० रुपैयाँ अथवा ७३ प्रतिशत खर्च गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार