रेडक्रसको म्याग्दी शाखाले  ५०औं स्वर्ण जयन्ती मनायो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले रेडक्रस म्याग्दीले गर्दै आएको सामाजिक कामको प्रंशसा गर्दै रेडक्रसको गरिमालाई जोगाउन आग्रह गर्नुभयो । उहाँले म्याग्दीको योजनावद्ध विकासका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको सामूहिक छलफलबाट साझा अवधारण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले छलफल गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । जुग्जालीले खरिद ऐनको समस्याले विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको उल्लखे गर्नुभयो ।

वि.स. २०२९ भदौ १९ गते स्थापना भएको रेडक्रसको म्याग्दी शाखाले स्वर्ण जयन्ती समारोह, ¥याली, सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाएको हो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली बेनी बजारको विभिन्न भाग परिक्रमा गरेर नेपाल भाषा मंका खलको सभामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

स्वर्ण जयन्तीको अवसरमा शाखाका संस्थापक सभापति भिमप्रसाद गौचन, माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोका र लेखबहादुर हमाल लगायत पुर्व पदाधीकारी, कार्यसमिति सदस्य, कर्मचारीका साथै मानवीय सेवाको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बेनी स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । २२ वटा उपशाखा र ६५ वटा युरेस तथा जुरेश रहेको म्याग्दी रेडक्रस अन्तरगत तीन हजार ३८१ जना आजिवन, एक हजार ११३ जना विशिष्ट र ३५ जना यशस्कर सदस्य रहेका शाखाका मन्त्री यामबहादुर चोखालले जानकारी दिनुभयो ।

रेडक्रसले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह, एम्बुलेन्स, आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । विपद् व्यवस्थापन, म्याग्दी भिडन्त, कोभिड १९ संक्रमणको समयमा नेतृत्वदायी भूमिका खेलेको शाखा सभापति अमर बानियाले जानकारी दिनुभयो । रेडक्रसको बेनीमा आफ्नै भवन रहेको छ ।

उहाँका अनुसार विभिन्न ७ वटा खानेपानी योजना निर्माण, ६ ठाउँमा विपद् जोखिम न्युनीकरण र एचआइभी एड्स सामाजिक विभेद तथा मानव बेचबिखन विरुद्ध युवा शसक्तिकरण सम्बन्धी कार्यक्रम गरेको रेडक्रसले हाल म्याग्दीमा रघुगंगा गाउँपालिकामा सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ ।

रेडक्रस अन्तरगतका विभिन्न कोषहरुमा रु. ५२ लाख ४२ हजार ६७६ मौज्दात रहेको शाखाका कोषाध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । शाखा स्थापना देखि हालसम्म भएका गतिबिधिहरुलाई समेटेर स्मारिका प्रकाशन गर्न लागेको उहाँले बताउनुभयो ।

संस्थापक सभापति तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले रेडक्रसको स्थापनाकालमा भएका गतिबिधिहरुको स्मरण गराउनुभएको थियो ।मालिका गाउँपालिकाका अध्यक्ष रेडक्रस जस्ता अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्थाका साथै स्थानीय स्तरमा भएका संघ संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका गतिबिधिको प्रर्वद्धन तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

पुर्व सभापतिहरु माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोकाले म्याग्दीमा रेडक्रसकर्मीहरुको एकता कायम गर्दै सामाजिक र मानवीय सेवाका क्रियाकलापलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

उपसभापति काशिराम रेग्मीको सात सिद्धान्त वाचन, उपसभापति विष्णु रोकामगरको स्वागत र मन्त्री यामबहादुर चोखालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार