म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए ।

नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनले आइतबार एक अपिल सार्वजनिक गर्दै असोज ३ गतेदेखि सबै विद्यालय बन्द गरी काठमाडौ केन्द्रित आन्दोलनमा सहभागि हुने जनाएका हुन् ।
आइतबार बेनीमा बसेको शिक्षक संगठनका प्रतिनिधिहरुको बैठकले आन्दोलनको अवधिभर सरकारको आयोजनामा हुने शिक्षा दिवस लगायत शिक्षा सम्बन्धी सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छन् ।

विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त टे«ड युनियन अधिकार, शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफ रहेको अपिलमा उल्लेख छ । मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु एचित ढंगबाट नसमेटिएको भन्दै शिक्षकहरु आन्दोलित हुनु परेको नेपाल शिक्षक महासंघले अपिल मार्फत जनाएको छ ।

यसै गरी मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मा.वि, बालविकास, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीका माग तथा मुद्दाहरुको सम्बोधन गर्न नसकेको महासंघको भनाई छ ।

मस्यौदाले शिक्षक कर्मचारीका मुख्य माग मुद्दालाई सम्बोधन गर्नु नसक्नुका साथै शिक्षण पेसाप्रतिको आकर्षण र सम्मान माथी समेत गम्भीर प्रहार गरेको महासंघको आरोप छ । मस्यौदामा रहेका शिक्षा र शिक्षक–कर्मचारी विरोधी प्रवन्धहरु परिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक–कर्मचारी मैत्री बनाउनु पर्ने शिक्षक–कर्मचारीहरुको अडान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार