बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र सुरु (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । गत माघ महिना देखि सडक स्तरोन्नति सहित कालोपत्र आयोजना अगाडी बढाइएको थियो ।उक्त सडक खण्ड आयोजना स्तरोन्नतिको लागि जय धन्नजय/मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लि. जेभीले ठेक्का लिएको छ ।राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत सडक स्तरोन्नतिका सहित कालोपत्र गर्न निर्माण कम्पनीसंग दुई वर्षभित्र निर्माण सक्नेगरी १२ करोड २५ लाख ९४ हजार चारसय ३६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी देखि गलेश्वर सम्म दुई किलोमिटर एकसय दुई मिटर साँघुरो सडकलाई आठ मिटरको फराकिलो पारिएको छ । खोल्साहरुमा कल्भट निर्माण गरिएको छ । दुईसय मिटर आरसीसी ढलान गरिएको छ । सात मिटर चौढाईमा डिबिएसडी प्रविधिको कालोपत्र गर्नका लागि शनिबार देखि प्राइम कोर्ड राख्न थालिएको छ ।कालीगण्डकी कोरिडोर आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले कोरिडोर अन्तर्गत ठेक्का लागेका खण्डमध्ये छिटो र छोटो समयमै डिविएसडी किसिमको कालोपत्र काम अघि बढेको खण्ड बेनी– गलेश्वर सडक रहेको बताउनुभयो ।

उहाँले निर्माण कम्पनीले २०७९ सालको माघ ६ गतेबाट सुरु गरेको योजनाको काम ११ महिनाको अवधीमा सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित सकेर एक किलोमिटर ९ सय मिटर सडकको डिविएसडी किसिमको कालोपत्रेको काम शनिबारदेखि सुरु गरेको बताउनुभयो । उहाँले यो कालोपत्रको काम एकहप्तामा सम्पन्न हुने जानकारी दिनुभयो ।

ठेकेदारले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर एकवर्ष भित्रनै योजनाको काम सम्पन्न गर्न लागेको हो ।सडक कालोपत्र भएपछि प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम,म्याग्दीको उत्तरी भेग र मुस्ताङ जान सहज हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विश्वास व्यक्त गर्नुभयो ।निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता मितिभन्दा अगावै योजना सम्पन्न गर्न काम थालेदेखि नै निर्माणलाई तिव्रता दिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार