बरंजामा अपाङ्गता परिचयपत्र वितरण, ४७ जना लाभान्वित

  म्याग्दी न्युज संवाददाता

बेनी । ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आइतबार म्याग्दीको मंगला गाउँपालिका–३, बरंजामा अपाङ्गता परिचयपत्र वितरण भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडास्तरमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गरिएको हो ।
‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मंगला गाउँपालिका म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको सहकार्य तथा मंगला गाउँपालिकास्तरीय अपाङ्ग सञ्जाल बाबियाचौरको समन्वयमा अपाङ्गता परिचयपत्र विरतण गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा (क) वर्गको १ जना, (ख) वर्गको १२, (ग) वर्गको ३ र (घ) वर्गको २ जना गरी कुल १८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने पुरानो २९ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरी जम्मा ४७ जना लाभान्वित भएका छन् । व्यानरवाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अपाङ्गता भएकाहरुको जीवनरक्षा र हेरचाहको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि गाउँपालिकाको सेवालाई वडास्तरमा सञ्चालन गरी नागरिकलाई राहत दिइने बताउनुभयो ।
अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर प्रशान्त गुराँगाईँले लाभग्राहीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । मंगला–३, बरंजाको कार्यवाहक वडा अध्यक्ष टिकादेवी विश्वकर्माको अध्यक्षता र गाउँपालिकाका सामाजिक तथा क्षमता विकास अधिकृत राजेन्द्र आचार्यले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
गाउँपालिकाको महिला विकास निरीक्षक अनिताकुमारी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र गाउँपालिकास्तरीय अपाङ्ग सञ्जाल मंगलाका अध्यक्ष सुनिल श्रीपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मंगला–४, बरंजाका कार्यवाहक वडा अध्यक्ष होममाया बुढाथोकी, वडा सदस्य कुलबहादुर थापा, बरंजा स्वास्थ्यचौकीका अहेव रोशनकुमार महतो, वडास्तरीय अपाङ्ग सञ्जाल बरंजाका अध्यक्षद्वय रसिक केसी, युकुमारी विक, वडा कार्यालय र स्वास्थ्यचौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार