जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको अध्यक्षमा निलकण्ठ शर्मा चयन हुनुभएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिवमा रामचन्द्र पौडेल, कोषाध्यक्षमा प्रविन पौडेल, सदस्यहरुमा चित्रबहादुर शाही, लक्ष्मण केसी, दुर्गा उपाध्याय र सूर्यप्रकाश बानियाँ (सागर) चयन हुनुभएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । अधिवेशनको उद्घाटन गर्दै बेनपा–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले जगन्नाथ मन्दिरको ऐतिहासिकता उजागर गर्न आवश्यक रहेको बताउनुभयो ।

जगन्नाथधाम क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै वडाध्यक्ष बानियाँले जगन्नाथ क्षेत्रलाई अगाडि बढाउन सकेमा घतान र कुहुँ क्षेत्रको समेत विकास हुने बताउनुभयो । चालु आर्थिक वर्षभित्रै जगन्नाथ मन्दिरको गेटसम्म सडकको ग्राभेल गरिने जानकारी दिँदै उहाँले जगन्नाथ मन्दिरको महत्वको बारेमा सबैलाई बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

साविक पुलाचौर गाविसका पूर्व उपाध्यक्ष भोजबहादुर कार्कीले धार्मिक क्षेत्रको विकासमा लाग्ने मानिसहरुले लोभलाभ गर्न नहुने बताउँदै जगन्नाथ मन्दिरको विकास, प्रचारप्रसार तथा संरक्षण र प्रवद्र्धन गर्ने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका सहायक प्रधानाध्यापक शिव बानियाँले जगन्नाथ मन्दिरको चौतर्फी विकासमा योगदान पु¥याएकाहरुको विषयमा चर्चा गर्नुभयो । पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका सदस्य तेजप्रकाश बानियाँले जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्रमा समितिका निवर्तमानद्वय सचिव निलकण्ठ शर्माले प्रगति र कोषाध्यक्ष रामचन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्र समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता, सचिव शर्माको सञ्चालन र जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार