जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु (फोटोफिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।  बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र करातेका अन्तर्राष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो ।

शाही रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा सोही गाउँपालिका–४,दग्नाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

उद्घाटन खेलमा एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ मालिकाका विशाल सुनारले स्वर्ण,रघुगंगाका सुझाव पुर्जाले रजत र बेनी नगरपालिकाका ईश्वर न्यौपाने कास्य तथा छात्रातर्फ रघुगंगाकी कञ्चन भण्डारीले स्वर्ण,सोही गाउँपालिकाकी सोनियाँ खड्काले रजत र धवलागिरी गाउँपालिकाकी अञ्जना विकले कास्य पदक जित्न सफल हुनुभएको छ । पदक विजेताहरुलाई जिसस प्रमुख थापा ,खेलकुद विकास समितिका अध्यक्ष केसीसहितका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभयो ।

त्यसैगरीे उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण,रघुगंगा र धवलागिरी गाउँपालिका क्रमश ःप्रथम, दृतीय र तृतीय भए । जिसस प्रमुख थापा र प्रजिअ ढकालले स्थानीय तहहरुले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिनुभयो । अनुशासन, लगनशिलता, इमान्दारिता र मेहनतका साथै स्वस्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्धितिय र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगङ्गा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताउनुभयो । खेलकुद विका समितिका सचिव याेगेन्द्रमान शेरचनले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईनेछ । बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागी भएका छन् । तस्बिर : साधन राम्जाली /म्याग्दी न्युज डटकम

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार