बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा पौडेल

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीको अध्यक्षमा पुनः जमुना पौडेल चयन हुनुभएको छ । संघको आज (आइतबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न १४औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्षमा चन्द्रबहादुर जिसी र सहसचिवमा भगवती मल्ल चयन हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा सेरमति गर्बुजा, बिजुला बानियाँ, सविता श्रेष्ठ, विष्णु बानियाँ शर्मा, लक्ष्मीकुमारी श्रेष्ठ र यशोदा किसान तथा सल्लाहकारमा राधिका परियार चयन हुनुभएको नवनिर्वाचित सचिव कृष्णसिङ बानियाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्य रहेको साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्रमा बौद्धिक अपाङ्गताका अभिभावक संघका केन्द्रीय अध्यक्ष राजु बस्नेत, केन्द्रीय सदस्य एवं राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य ममता पौडेल, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल र बौद्धिक अपाङ्गता अभिभावक स्रोतकक्षा बालजागृति विद्यालय बगुवाखोलाका प्रधानाध्यापक धनबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा संघका सचिव कृष्णसिङ बानियाँले प्रगति र कोषाध्यक्ष चन्द्रबहादुर जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बौद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र सचिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार यामबहादुर बानियाँले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार