सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण

  म्याग्दी न्युज संवाददाता

बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले मुटु रोगबाट पीडित कुमार थापालाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा घर भई हाल बेनीबजार निवासी कुमार थापालाई सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको तर्फदेखि नगद आठहजार रुपैयाँ सहयोग गरिएको हो ।

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको कार्यसमिति सदस्य समेत रहनुभएकी हेमा छन्त्यालको श्रीमान् कुमार थापालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ । सो सहयोग सदस्य छन्त्याललाई हस्तान्तरण गरिएको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्कीले बताउनुभयो । उपचारको क्रममा सानो भए पनि सहयोग होस् भन्ने उद्देश्यसहित संघको पहलमा आर्थिक सङ्कलन गरी सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कार्कीसहित निवर्तमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, कार्यसमिति सदस्यद्वय विष्णु खवास र टिका पुनको उपस्थिति रहेको थियो । सौन्दर्यकला व्यवसायी संघले जिल्लामा उद्यमीको सिर्जनासँगै रचनात्मक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार