पलायन रोक्न शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ : सांसद गर्बुजा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा ‘खम्बीर’ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विविध खेलकुद कार्यक्रमको उद्घाटन गर्दै सांसद गर्बुजाले पढ्न सहर झर्ने अवस्थाको अन्त्य गर्न गाउँका विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । गाउँबाट बैदेशिक रोजगारीका साथै गुणस्तरीय शिक्षाका लागि भन्दै बजार झर्नेको संख्या समेत बढ्दै जाँदा गाउँबस्ती नै सुनसान हुन थालेका सांसद गर्बुजाको भनाई छ ।

‘गाउँमा चहलपहल बढाउन पढ्न बजार झर्ने विद्यार्थीलाई रोक्नुपर्छ, बेनीका सामुदायिक विद्यालयमा थामिनसक्नु विद्यार्थी गाउँबाटै गएर भएका हुन्’ सांसद गर्बुजाले भन्नुभयो । उहाँले गाउँमा चहलपहल बढाउन शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रको पूर्वाधारमा समेत उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले अलपत्र बनेको बेनी–पात्लेखेत–झिँ–पाखापानी सडकको बहुबर्षीय ठेक्का लागेको बताउँदै अब पाखापानीसम्म कालोपत्रे सडक तीन बर्ष भित्र पुग्ने बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छौ, भौतिक पूर्वाधारमा तीनै तहले प्राथमिकताका आधारमा लगानी बढाउनुपर्छ’ सांसद गर्बुजाले भन्नुभयो ।

उहाँले निर्वाचनको समयमा चुनावी प्रतिबद्धता अनुसारका सबै काम आफ्नो कार्यकालमा पूरा गरेरै छोड्ने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमला गौचनले शैक्षिक क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउदै ग्रामिण क्षेत्रमा शैक्षिक क्षेत्र संगै पर्यटन क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा कार्यक्रममा २०७९ सालको एसईई परिक्षामा पास हुने विद्यार्थीलाई सम्मान, विद्यालयको शैक्षिक सुधार गर्नका लागि अक्षयकोष स्थापना गर्ने आर्थिक सहयोगदातालाई सम्मान, विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान र अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष पदम बहादुर शेरपुजाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अबस्था र आर्थिक, शैक्षिक भौतिक प्रतिवेदन प्र.अ यामबहादुर शेरपुञ्जाले प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा भलिबल सहितका खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार