म्याग्दीका बानियाँ खेलकुद प्रशिक्षकमा छनौट

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट खेलकुद प्रशिक्षकमा छनौट हुनुभएको छ ।जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलप्रतिको आर्कषण बढाउन सक्रिय बानियाँ खेलकुद प्रशिक्षक छनौटका लागि विभिन्न विधाका प्रशिक्षकहरुसँगको प्रतिस्पर्धाबाट छनौट हुनुभएको हो ।

भलिबल खेल क्षेत्रमा बाल्यकालदेखि नै प्रवेश गरेका बानियाँ करिब १८ वर्ष यही क्षेत्र लाई निरन्तरता दिदै आउनुभएको छ । म्याग्दी जिल्लाबाट पुर्व क्याप्टेन भलिबल खेलाडी, हाल रेफ्री हुदै प्रशिक्षक समेत रहेका बानियाँ अहिले म्याग्दी जिल्ला भलिबल संघको अध्यक्ष भएर भलिबल अक्षय कोषको स्थापना समेत गर्नुभएको छ ।

संस्थागत र ब्यक्तिगत रुपमै प्रशिक्षण सहित भलिबल खेलको प्रर्वधनमा सक्रिय रहेका बानियाँले अब जिल्ला खेलकुद विकास समितिबाट खेलकुद प्रशिक्षकको रुपमा रहेर खेल क्षेत्रमा थप सक्रिय हुने अवसर मिलेको बताउनुहुन्छ ।

‘मेरो लागि यो अवसर हो, अब मैले भलिबल खेलका लागि थप समय दिन सक्छु, प्रतिस्पर्धाबाटै छनौट हुन पाउँदा खुसी छु’ बानियाँले भन्नुभयो । उहाँले संस्थागत विकास र प्रशिक्षणलाई सँगसँगै लैजाने बताउनुभयो ।

सन् २०१९ मा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट भारतको बेङलोर बाट सर्टिफिकेट लेभल भलिबल कोर्षमा कक्षा उत्कृष्ट भएका बानियाँ गण्डकी खेलकुद परिषदले आयोजना गरेको ३ महिने सहायक प्रशिक्षक कोर्ष र राष्ट्रिय भलिबल रेफ्री रिफरेसर कोर्ष समेत लिनुभएको छ ।उहाँले म्याग्दी, बागलुङ, मुस्ताङका साथै नेपाली सेनालाई समेत प्रशिक्षण दिनुभएको छ भने करिब २ दर्जनभन्दा बढी विद्यालयमा पुगेर समेत प्रशिक्षण दिएको अनुभवले समेत यो अवसर दिलाएको बानियाँको भनाई छ ।

नेपालको राष्ट्रिय खेल भलिबल भएकाले यस लाई सबैले विकास र विस्तार गर्न साथै संरक्षणमा समेत उहाँले अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो नयाँ जिम्मेवारीमा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा विशेष समय दिने र खोजी गर्ने मुख्य लक्ष्य रहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार