
बेनी । पर्वतको जलजला गाउँपालिका–३,स्थित पर्वत बेनीमा करिब तीस करोड रुपैयाँ लगानीमा होटल ज्ञान गौरी प्यालेस सञ्चालनको तयारीमा छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गर्नुभएको हो । लिफ्ट सहितको पाँच तले होटलमा ४० कोठा रहेका छन् ।होटल सहित गार्डेन,पार्कीङ सुविधा,दुईसय पचास जना क्षमताको पार्टी प्यालेस बनाइएको छ ।होटलमा स्विमिङ पुल पनि निर्माण गरिने भएको छ । तीनवर्ष अघि ज्ञान गौरी प्यालेस प्रालिले होटलको पूर्वाधार निर्माण थालेको थियो । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी बैशाख १ गते नयाँ वर्ष देखि होटल संचालनका लागि तयारी गरिएको प्रालिका संचालक केसीले जानकारी दिनुभयो ।
भिडिओ हेर्नुहाेस्…
अहिले भवनमा रङ्गरोगन, विद्युत, पानी जडान, झ्याल ढोका जडान गर्ने कामलाई एकैसाथ तिब्रता दिइएको छ । अबको एक हप्ताभित्र रङ्गरोगनको काम सकेर फिनिसिङ र फर्निसिङको काममा केन्द्रित हुने उहाँको भनाइ छ । ‘पूर्वाधारको सम्पूर्ण कामहरु सकिएको छ ।कोठाहरुको व्यवस्थापन,सजावट लगायतका कामहरु सकेर नयाँ वर्ष देखि पाहुनालाई स्वागत गर्ने तयारीमा छौं,’उहाँले भन्नुभयो ।
यसअघि उहाँ पोखरामा व्यवसाय गर्दै आउनुभएको थियो।‘बागलुङ,पर्वत ,बेनी र मुस्ताङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटल खोलिएको हो,’ उहाँले थप्दै भन्नुभयो ,‘विशेषगरेर मुस्ताङ जाने आउने पाहुनाहरुले बेनीमा बास नपाएर फर्किने बाध्यतालाई कम गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई उच्चस्तरको सेवा सुविधा दिन सकियोस् भन्ने उद्धेश्य पनि हो,’उहाँले थप्दै भन्नुभयो । दुई सय जीप र बस पार्किङ गर्न मिल्ने सुविधा रहेको छ ।
होटलमा हनिमुन स्विट रुम ३ वटा,मिनि स्विट रुम २ वटा,स्टाण्र्ड रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेको संचालक केसीले बताउनुभयो । सवै रुमहरुमा एसी जडान गरिएको उहाँको भनाइ छ । होटलमा एकसय जना सम्म पाहुना राख्न सक्ने क्षमता रहेको छ । कालिगण्डकी करिडोर क्षेत्रमा दैनिक रुपमा पर्यटक आगमन बढेको बताउँनुभयो । यो होटल यस क्षेत्रकै सुविधा सम्पन्न होटल हुने उहाँको दावी छ । होटलका निर्माणका लागि पैतृक जग्गामा थप साढे आठ रोपनी जग्गा खरिद गरेको उहाँले बताउनुभयो । होटल संचालमा आएपछि साविक धौलागिरिको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।