मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोग र मंगला गाउँपालिकाको आयोजनामा बावियाचौर स्थित मंगला माविमा आयोजित एक दिने स्वास्थ्य शिविरमा १७ सयभन्दा बढी बिरामीको जाँच गरिएको छ। शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दीका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई मध्यनजर गरी शिविर सञ्चालनको अभियान सुरू भएको बताउनुभयो ।


उहाँले मंगला सहित अन्य गाउँपालिकामा समेत स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको रोग पहिचान गरी निशुल्क उपचार गरिने बताउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माको प्रशंसा गर्नुभयो । ‘दुर्गम भेगका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने दायीत्व राज्यको भएपनि माननीय डा.सुनिलकुमार शर्मा ज्युले मेडिकल कलेज मार्फत निःशुल्क शिविर सञ्चालन गरेर प्रशंसनीय गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु ,’सांसद गर्बुजाले भन्नुभयो ।

भिडिओ हेर्नुहोस्…

त्यस्तै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य उपचारमा गाउँपालिकाबासीको सहजताका लागि आगामी दिनमा पनि स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । ‘शिविरमा भेटिएका बिरामीलाई थप उपचारका लागि समेत सहजीकरण गर्नेछौं’ अध्यक्ष रोकाले भन्नुभयो । सोही अवसरमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले शिविरमा भेटिएका जटिल रोगका बिरामीलाई थप उपचारका लागि बैशाख १० गते काठमाडौं स्थित अस्पतालमै निशुल्क उपचार गरिने बताउनुभयो ।

उहाँले शिविरमा भेटिएका सबै प्रकारका रोगीहरुको उपचार हुने बताए । शिविरको अध्यक्षता गाउँपालिका अध्यक्ष रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत सिवकुमार पौडेल र सञ्चालन स्वास्थ्य संयोजक लेखु रोका मगरले गर्नुभएको थियो । शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग लगायतको जाँच भएको थियो । स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिएका छन् ।

     

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार