जलजला गाउँपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरणमा सहज,भिमबहादुरले पाए अस्पतालमै परिचयपत्र

  म्याग्दी न्युज संवाददाता

बेनी । पर्वतको जलजला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई तिब्रता दिएको  छ । शुक्रबार जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तीलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण गर्नुभएको छ । कास्की पोखरा स्थित चरक अस्पतालमा उपचाररत अपाङ्गता हुनुभएका वडा नम्बर १ का भिमबहादुर पुनलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य ,उपाध्यक्ष एवं  समन्वय समिति संयोजक दिपक आचार्य ,प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद आचार्य लगायतको टोलीले अपाङ्गता परिचयपत्र वितरण गर्नुभएको हो ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस,वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट भिमबहादुरलाई पुर्ण अशक्त अपाङ्गता ‘क’ वर्गको परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । घरमै पुगेर वितरण गर्दा सहज हुनुका साथै उनीहरुको आर्थिक र समयको बचत समेत भएको छ ।

‘मेरुदण्ड  भाँचिएकोले शरिर नै नचल्ने भएपछि विगत चार महिनादेखि उपचाररत भिमबहादुरलाई केही राहत मिलोस् भन्ने उद्धेश्यले अस्पतालमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ,’ गाउँपालिका अध्यक्ष आचार्यले भन्नुभयो ,‘ अब उहाँले पूर्ण अशक्त अपाङ्गताको मासिक चार हजार रुपैयाँ    भत्ता पाउँनुहुन्छ ।’ गाउँपालिका उपाध्यक्ष एवं समन्वय समिति संयोजक आचार्यले गाउँपालिकाका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई  जहाँ बस्छन् त्यहीँ पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको बताउनुभयो । गाउँपालिकाले महिला तथा बालबालिका शाखा मार्फत अहिलेसम्म एक सय ४० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार