बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत ९ गतेदेखि सदरमुकाम बेनीमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको हो ।

भिडिओ


लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिमखोला । जिल्लाको रघुगङ्गा गाउँपालिका–७,स्थित चिमखोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । म्याग्दीकै पहिचान बनेको लोकप्रिय थाली नाचको मौलिकता संरक्षण र संवर्धन गर्दैै युवा पुस्तामा हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर ‘लोकेश’को भनाइ छ । थाली नाच सबैले नाच्ने गरिएपनि यसको मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो ।

म्याग्दीको पहिचान बनेको थाली नाच साझा लोकनृत्य भएको मगर संघ म्याग्दीकी सल्लाहकार डकमाया पाइजाले बताउनुभयो । थाली नाचको संरक्षण र संवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रमा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभइ विदेशमा पनि पु¥याएका छन् । बेनी नगरपालिका–७,का वडा अध्यक्ष रमेश श्रेष्ठले भाषा,मौलिक कला संस्कृति पुस्तान्तरण नहुँदा संकटमा पर्दै गएको बताउनुभयो ।

भिडिओ

थाली नाच कलाकार खिमा पुर्जाले ३२ जना जना प्रशिक्षार्थीहरुलाई थाली नाच बारे सिप सिकाउनुभएको थियो । तालिम लिएपछि थाली नाचको इतिहास र मौलिकताका जानकारी हासिल सँगै नाच्ने सिप सिकेको प्रशिक्षार्थीहरु टिका पुर्जा र मधु रोकाले बताउनुभयो । बि.सं. २०२८ सालमा चिमखोलाकी हिरामायाले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो ।  मगर सङ्घले जेठ १३ देखि २८ गतेसम्म मगर भाषा प्रशिक्षण सञ्चालन गरेको थियो । भने यसअघि लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरेको थियो । सहसचिव रमेश फगामीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भिडिओ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार