बेनी । म्याग्दीको मालिका गाउँपालिकाबाट एक वर्षमा ६० जनाले पुनःश्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीमा गएका ५८ पुरुष र २ जना महिला गरी ६० जनाले गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिएका हुन्। गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीका अनुसार, गाउँपालिकाको वडा नम्बर १ निस्कोटका ५ जना, वडा नम्बर २ रुमका २० जना, वडा नम्बर ३ डाँडागाउँका१ जना, वडा नम्बर ४ ओखरबोटका ३ जना, वडा नम्बर ५ देविस्थानका १९ जना, वडा नम्बर ६ दरबाङका ५ जना र वडा नम्बर ७ बिमका ५ जना रहेका छन् । त्यसैगरी मंगला गाउँपालिकाका २ जनाले समेत पुनः श्रम स्वीकृति लिएका छन् ।
सबैभन्दा बढी साउदी अरेबिया,कुवेत ,कतार र संयुक्त अरब इमिरेट्स (युएई)का लागि पुनःश्रम स्वीकृति जारी भएको छ । युएईका लागि ११ जना,साउदी अरेबीयाका लागि २० जना ,कतारका लागि ११ जना ,कुवेतका लागि १२ जना ,क्रोसियाका लागि २ जना ,रोमनियाका लागि १ जना ,बहराइनका लागि १ जना ,ओमनका लागि १ जना र मलेसियाका लागि १जनाले पुनःश्रम स्वीकृति लिएका रोजगार सहायक सुवेदीले जानकारी दिनुभयो । बिदामा आएका, भिसा र करार अवधि भएकाले पुनः श्रम स्वीकृति लिएका छन् । यसैगरी, वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि सिफारिस भएका ७ जनाले छात्रवृत्ति पाएका छन् ।श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीले छात्रवृत्ति पाउनेछन् ।