म्याग्दी । जिल्लाको मंगला गाउँपालिकाको ¥यालेखोरमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । मंगला गाउँपालिका–२,स्थित ¥यालेखोर बस्ती मुनी मुहानबाट सौर्य उर्जा मार्फत लिफ्ट प्रबिधिबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सस्था, मंगला गाउँपालिका र उपभोक्ताहरुको साझेदारीमा सो आयोजना निर्माण भएको हो ।
बस्ती मुनी पहिराको मुहानबाट १०९ मिटर माथि तानिएको आयोजना निर्माणमा आर्थिक सहयोग सँगै प्राविधिक सहयोग गरेको नेवा संस्थाका प्राबिधिक गोर्खबहादुर शाहीले बताउनुभयो ।
९२ लाख २४ हजार ९८७ रुपैयाँ लागतमा ¥यालेखोर,खुम्लीया र भाइवाङमा निर्माण भएको आयोजनाको शनिबार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी र नेवा संस्थाका गण्डकी प्रदेश प्रमुख रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।प्रति सेकेण्ड २ लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुुवन मंगला माविमा निजी धारा मार्फत वितरण गरिएको हो ।उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले ¥यालेखोर र भाइवाङका १०० घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । भाइवाङ बस्तिमा पधेराको मुहानको पानी वितरण गरिएको छ । “यसअघि ४/५ वटा घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,” आचार्यले भन्नुभयो “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।”
मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सिमित स्रोतले पनि सबैले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्कि चाङ बनाइएको छ । नेवा संस्थाको ३८ लाख ७१ लाख ३०७ रुपैयाँ , मंगला गाउँपालिकाको २७ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार ४६८ रुपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अध्यक्ष आचार्यका अनुसार उपभोक्ताहरुले श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो ।
स्थानीयबासी पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्जट र सास्ती हटेको बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाइबस्तुलाई खुवाउन र सरसफाईका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको छ ।नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप २ ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिएको प्राविधिक शाहीले बताउनुभयो ।