मंगलामा मोनाको निशुल्क आँखा शिविर

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा असोज १६, १७ र १८ गतेसम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन बृद्धबृद्धादेखि सबै उमेर समुहकाले सेवा लिएका छन् ।

शिविरको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले उद्घाटन गदैं आँखाको समस्या भएका बिरामीहरु धेरै भएपनि नियमित उपचार गर्न नसकेकाले जटिल समस्यापछि मात्रै सार्वजनिक हुने गरेकाले नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिनुभयो । शिविरमा मंगला गापा–२, का वडा अध्यक्ष धनबहादुर खाती क्षती, नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँ र मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददीवल खड्काले आँखाको उपचार सेवालाई सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पु¥याउने अभियान अन्तरगत मोनासँग सहकार्य गरिएको बताउनुभयो ।

शिविरमा आँखाका सबै किसिमका समस्याको परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, औषधी तथा चस्मा वितरण गरिने छ। शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोली खटिएको छ । विभिन्न कारण अस्पताल जान नसेका ग्रामिण भेगका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष खड्काको भनाइ छ । शिविरमा आउने बालबालिकालाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी थप उपचारमा सघाइने छ । शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत बिरामी आउने अनुमान गरिएको छ । आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरको पहिलो दिन ५० वर्षभन्दा माथिका बिरामी गाउँगाउँबाट आएका छन् ।

शिविरको अध्यक्षता मोनाका अध्यक्ष खड्का, स्वागत शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामी र सञ्चालन मोना यूएईका अध्यक्ष सुवास राम्जालीले गर्नुभएको थियो। मोनाको असोज १८ र १९ गते साधारणसभा मुल संयोजक मीम पूर्जाको संयोजकत्वमा इन्द्रेणी पार्कमा उद्घाटन र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार